Logo

Breaking News 1

आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीलाई



काठमाडौं। आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसको जानकारी गराएका हुन् । शिक्षकहरूले आवश्यकताभन्दा धेरै सर्त राखिरहेको बताएका खड्काले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले राखेको कुरा बाहिर नआओस् भन्दै धारणा राखेका थिए । तर, नजिक बसेकाहरूले बैठक लाइभ भएको जानकारी गराएपछि बाहिर राख्न सहज हुने विषय मात्र राखेका थिए ।

“उहाँहरूसँग शिक्षा दिवसका दिन मेरो भेटघाट भएको थियो । प्रधानमन्त्री नभएकाले शिक्षा दिवसको कार्यक्रममा म नै गएको थिए । मैले त्यहाँ गुरुहरू आन्दोलनमा हुनुहुन्छ । अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पुरा गर्न सकिन्छ भनेको थिए,” रक्षमन्त्री खड्काले भने, “हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनुभएको थियो । तर, उहाँहरू वार्ताका लागि तयार हुनु भएन ।”

उनले यति भनिसक्दा बैठक लाइभ भएको थाहा पाएपछि शिक्षकहरूको आन्दोलन पूर्वनिर्धारित भएकाले वार्तामा नआएको हुनसक्ने बताए ।

उनले त्यसपछि आफूले वार्ता गरेको भन्दै त्यो वार्ता पछि शिक्षकहरूले मन्त्रीसँग वार्ता नगर्ने सर्त राखेको बताए ।

“उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो,” खड्काले भने, “त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनुभएको छ ।”

उनले अबको वार्ता श्रेष्ठकै नेतृत्वमा हुने जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ४ : २० बजे