Logo

Breaking News 1

नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा



काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रिय समितीबाट गराएका छन् ।

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भुमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् । आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै थापाले राजा प्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिब्यक्ती दिएका छन् ।

थापाले सबै गुनासो ,चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको ब्यबस्थाको बिकल्प खोज्ने समेत बताएका छन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशब्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन् । उनले आज ट्विट मार्फत भनेका छन् ” राजा प्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ।तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।”

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ११ : २१ बजे