Logo

मुख्य समाचार

लागुऔषधसहित १० जना पक्राउ



काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका(१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित दाङ घोराही उपमहानगरपालिका(११ बस्ने २५ वर्षीय संजय नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका(१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ४४ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी शम्भुनाथ नगरपालिका (६ बस्ने १९ वर्षीय शिवम गुप्ता र विराटनगर महानगरपालिका(१४ बस्ने २५ वर्षीय शिवकुमार राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवमलाई २ ग्राम ८ मिलिग्राम र शिबलाई ३६ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङको धुनीबेशी नगरपालिका(८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका(८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका(१४ थानकोट बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका(१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा प्र २५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका(२ झापा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्रामसहित भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका(१ कन्चनजंघा टोलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँस्थित बिमला होटल एण्ड लज संचालन गरी बस्ने मेचिनगर नगरपालिका(१२ घर भएकी ४० वर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका(७ घर भएका २९ वर्षीय रूजन चौधरी रहेका छन् । बिमलाले लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका(८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका(२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका(८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ५६ बजे