Logo

Breaking News 1

नेम्वाङको निधनले प्रतिनिधिसभाले एक असल र काबिल सदस्य गुमायो : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको बताएका छन् ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । सभामुख घिमिरेले शोक वक्तव्य जारी गर्दै उनको निधनले आफूलाई मर्माहत बनाएको बताउँद नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ र प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको बताएका हुन् ।

शोक वक्तव्य

संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा (एमाले) का उपाध्यक्ष एवं पार्टी संसदीय दलका उपनेता माननीय सुवासचन्द्र नेम्वाङको २०८० साल भदौ २६ गते बिहान ३ बजे ७१ वर्षको उमेरमा भएको असामयिक निधनले मर्माहत बनाएको छ । यस दुखद घडिमा नेता नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु । उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।

२०४८ सालमा राष्ट्रिय सभामा निर्वाचित भएपछि संसदीय क्षेत्रमा अविराम योगदान गर्नुभएका नेम्वाङले संविधान निर्माणको ऐतिहासिक नेतृत्व गर्नुभएको थियो । २०६३ सालमा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख, अन्तरिम व्यवस्थापिका संसदको सभामुख, प्रथम र दोस्रो संविधान सभाको अध्यक्ष हुनुभएका नेम्वाङले पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

नेम्वाङले नेपालको सहमतीय राजनीतिमा खेलेको भूमिका, संविधान निर्माण तथा कानून निर्माणमा गर्नुभएको योगदान इतिहासमा अभिलेखिकरण भएको छ । शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा परिचित उहाँको निधनले नेपालको न्याय क्षेत्रले कानूनका ज्ञाता गुमाएको छ ।
पाँच दशक लामो राजनीतिक यात्रामा असल राजनीतिज्ञ नेम्वाङसँग मैले लामो सहयात्रा गर्ने अवसर पाएको छु । राजनीतिक जटिलतालाई विभिन्न विकल्प र कोणबाट समाधान गर्ने उहाँको क्षमता बिरलै राजनीतिज्ञमा पाउन सकिन्छ ।
नेपालको संसद् र सभामुखको पर्यायका रुपमा रहनुभएका नेम्वाङमा सबै राजनीतिक दलका स्वीकार्य व्यक्तित्व हुनुहुन्थ्यो । सभामुखमा निर्वाचित भएपछि मैले पनि संसदीय कामकारबाहीमा उहाँको अनुभव र सुझावहरु लिने गरेको स्मरण गर्दछु ।
अन्त्यमा, स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

देवराज घिमिरे
२६ भदौ, २०८०

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : ५४ बजे