Logo

मुख्य समाचार

एसियन गेमका लागि नेपालबाट रेफ्री चौलागाईं छनोट



काठमाडौं । चीनको हाङ्झाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् । एसियाली भलिबल महासंघ (एभिसी)ले नेपालबाट सिफारिस गरिएका पाँच जनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।

नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो । छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । उनकाअनुसार भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदैछन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।

एसियाली खेलकुदको १९ औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ । एसियन गेम हरेक चार वर्षमा हुनेगर्छ । २०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट लासिवा छनोट भएका थिए । २०२२ मा चीन तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो ।

४० खेल हुने प्रतियोगितामा ४५ देशका साढे १२ हजारभन्दा बढी खेलाडीले भाग लिनेछन् । एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउँदैछ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ५ : ३५ बजे