काठमाडौ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी नेता माननीय चन्दा चौधरीले इन्जिनियरिङ संस्थाले गरेको चर्को शुल्क वृद्धि विरुद्ध अनसनरत नेपाल विद्यार्थी संघका इकाई सभापति सुलभ चापागाईंलाई भेटेर उनले गरेको अनसन प्रति एक्यवद्धता जनाउनु भएको छ। विगत ९ दिनदेखि अनसनरत चापागाईंलाई वीर अस्पतालमा भेट्न पुग्नु भएकी चौधरीले यो चर्को शुल्क वृद्धिले धेरै गरीब जनताका सन्तानहरुको गुणस्तरीय शिक्षा पाउने अधिकार हनन हुने भन्दै उनको आन्दोलनमा एक्यबद्धता जनाउनु भएको हो।
विद्यार्थी नेताको स्वास्थ्य स्थिति बिग्रँदै गएकोले आफ्नो स्वास्थ्यको पनि विचार गर्न सांसद चौधरीले चापागाईंलाई अनुरोध गर्नु भएको थियो। चौधरीले यो चर्को शुल्क वृद्धिले निम्न आय आर्जन भएका जनतालाई आफ्नो छोरा छोरी राज्यले नै राम्रो विषय नपढा भनेर भनेको जस्तो भान भइरहेकोले आफूले संसदबाट पनि सरकारलाई अनुरोध गरेको र चापागाईंले उठाएको मुद्दा एकदम जायज भएकोले पुरा हुने विश्वास पनि व्यक्त गर्नु भयो |
आजै भएको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद् चन्दा चौधरीले छिमेकी मुलुक भारतले आफ्नो १००० जना भन्दा बढी इन्जिनियर जसमा १०० जना भन्दा बढी महिला थिए, उनीहरुको मद्दतले चन्द्रमामा आफ्नो यान पठाइरहदा, नेपाल सरकारले भने इन्जिनियरिङ जस्तो समाजको आधारभूत विषयमा हुने पढाइको शुल्क बढाएर गरीब जनताका छोरा छोरीलाई पढ्न बाटै बन्चित गर्न लागेको बताउनु भएको थियो।
बैठकमा उहाले एकै चोटि १५०% भन्दा बढीले भएको शुल्क वृद्धिले निम्न तथा मध्यम आय भएका अभिभावक , निजामती कर्मचारी, मधेश, पहाड र हिमालका किसान जस्ता समाजका सबै जनताका सन्तानहरुले इन्जिनियरिङ जस्तो अत्यन्त आवश्यक विषयमा अध्ययन गर्नबाट बन्चित हुने भएकोले भएको शुल्क वृद्धिलाई तत्काल फिर्ता लिन सम्बन्धित सरोकारवालाहरुसंग आग्रह गर्नु भएको थियो ।
प्रतिक्रिया