काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागबण्डाका बारेमा किचलो शुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा संसदीय समितिका सभापति चयन गरेको भन्दै इतर समूहले आफ्नो भागमा परेको संसदीय समितिको सभापति पद नै अस्वीकार गरेको छ ।
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भागबण्डा गर्दा कांग्रेसलाई चार समितिको सभापति भाग परेको थियो । त्यसमा इतर समूहले आफूहरूलाई दुई समिति सभापति दिनुपर्ने अडान राखेको भएपनि सभापति देउवाले तीन समिति सभापति राखेर इतरलाई एउटा दिएपछि इतर समूह असन्तुष्ट बनेको हो ।
इतर समूहबाट संसदीय सुनुवाइ समितिको सभापति बनाउने तयारी गरिएका सहमहामन्त्री जीवन परियारले सभापति पद अस्वीकार गरेको बताएका छन् ।
कांग्रेसबाट प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा निर्वाचित भएका छन् ।
प्रतिक्रिया