काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा देखिएको घटनाक्रमले पार्नसक्ने नकारात्मक असरबारे सरकार गम्भिर रहेको भन्दै वार्ता र सहमतिमार्फत समस्याको समाधान गर्न अपील गरेका छन् ।
विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको भन्दै कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको बताएका छन् ।
धरानमा देखिएको समस्याको समाधान संवाद र सहमतिबाट गर्न अपील गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्,‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ ।’
‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।’ प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया