Logo

Breaking News 1

भक्तपुरकाे बाल सुधार केन्द्रबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ



काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।  फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले ऐना खबरलाई बताए ।

बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले ऐना खबरलाई बताए ।

आइतबार बिहान सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगेका थिए । तर, अस्पताल अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको भन्दै परिवार र आफन्तले ‘हत्या’ भएको भन्दै विरोध गरेका छन् ।

घटना छानबिन गर्न भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ५ : ४९ बजे