Logo

Breaking News 1

कांग्रेस संगठन सशक्त, क्रियाशील र एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धतासहित अभियान सम्पन्न भयो : नेता विष्ट


३० श्रावण २०८०, मंगलबार  

69
Shares

हुम्ला । नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्।

कांग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरिएको बताए।

‘झरीकै बीचमा हामीले जिल्लाका नेताहरूबीच एकता कायम गर्दै पार्टीका गतिविधिलाई सशक्त रूपमा कसरी अगाडि बढाउने? कसरी पार्टीका निकायलाई परिचालन गर्ने? आन्तरिक मदमेद भए कसरी अन्त्य गर्ने भन्ने विषयमा विचार विमर्श गर्‍यौं। सबै साथीहरूले पार्टीलाई गतिशील तुल्याउन एक जुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ,’ उनले भने। जिल्लामा पार्टीका साथीहरूबीचको एकता र सद्भाव देखेर आफूलाई खुसी लागेको विष्टले बताए।

प्रतिकुल मौसमका कारण जिल्लामा उपलब्ध हुन नसकेका पार्टीका नेताहरूसँग टेलिफोनमै समन्वय गरेर भए पनि पार्टी गतिशीलताका विषयमा छलफल भएको उनले जानकारी दिए। ‘कांग्रेस केन्द्रीय सम्पादन समिति सदस्य एवम् पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधान सभा सदस्य रिता शाही, प्रदेश सभा सदस्य विजया बुढा, हुम्लाका पूर्वपार्टी सभापति धनपति रोकायालगायत अन्य थुप्रै नेताहरूप्रति आभार व्यक्त गर्छु,’ विष्ट भन्छन्।

अभियान अवधिभर पूर्णरूपमा सहयोग र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा कर्णाली प्रदेशका प्रतिनिधि कर्णबहादुर रावल, जिल्ला सभापति मोहनविक्रम सिंहलगायत सम्पूर्ण जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, कर्णाली प्रदेशका सदस्यहरू, जिल्लाका दुवै प्रदेशका सभापतिलगायत कार्यसमितिका पदाधिकारप्रति विष्टले आभार व्यक्त गरेका छन्। उनले सात पालिकाका ४४ वटै वडाका नेताहरू, जनप्रतिनिधिहरू, भ्रातृ र सुवेच्छुक संस्थाका पदाधिकारीहरूसँग समेत अन्तरक्रिया गरिएको बताए।

श्रावण २० गतेदेखि कांग्रेसले थालेको आन्तरिक सुदृढीकरण विशेष कार्यक्रमको पहिलो चरण आजबाट सकिएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ०० बजे