काठमाडौं । आर्थिक वर्ष सकिन एकसता बाँकी रहँदा सरकारी लक्ष्यअनुसार राजश्व परिचालन नहुने करिब निश्चित देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म लक्ष्यको करिब ६३ प्रतिशत अर्थात् ८ खर्ब ७९ अर्ब बढि राजश्व संकलन भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब बढि राजश्व संकलनको लक्ष्य राखेको थियो ।
कार्यालयका अनुसार सरकारी खर्च भने ७३ प्रतिशत भइसकेको छ । साधारण खर्च झण्डै ८३ प्रतिशत खर्च भएको भएपनि विकास बजेट भने लक्ष्यको साढे ४८ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब बढि विकास बजेट विनियोजन गरेको थियो । तर असार सकिन एकसाता बाँकी रहँदासम्म एक खर्ब ८४ अर्ब मात्रै खर्च हुन सकेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार ५५ अर्ब वैदेशिक अनुदान ल्याउने लक्ष्य लिएको सरकारले जम्मा ४ अर्ब हाराहारीमा मात्रै त्यस्तो रकम परिचालन गर्न सकेको छ । यता सरकारी खर्च समेत असारमा मात्रै बढेको छ ।
तथ्याङ्कअनुसार असारको २२ दिनमा १ खर्ब ३८ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । राजस्व संकलन भने ४१ अर्ब मात्रै भएको छ । जेठ ३२ गतेसम्म ११ खर्ब ७८ अर्ब अर्थात् ६५ दशमलव ६५ प्रतिशत बजेट खर्च भएकोमा अहिले १३ खर्ब १६ अर्ब अर्थात् ७३ दशमलव ४१ प्रतिशत पुगेको छ ।
जेठ ३२ गते साधारण खर्च ८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा अहिले ९ खर्ब ७२ अर्ब अर्थात् २२ दिनमा ९४ अर्ब रुपैयाँ तलब भत्ता वितरणमा खर्च भएको छ ।
प्रतिक्रिया