Logo

Breaking News 1

पूर्वी क्षेत्रमा बाढी र पहिरोबाट जनधनको ठूलाे क्षति



काठमाडाैं । वर्षायामको सुरुवातमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको ठुलाे क्षति पुगेकाे छ । अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ ।  त्यस जिल्लामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन् ।

यस्तै बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको भने शव फेला परेको छ । पाँचखपन नगरपालिका–५  खोला किनारमा फेला परेको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनाको थप विवरण आउन बाँकी छ । यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन् ।

 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ९ : ४० बजे