काठमाडाैं । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो । सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ ।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरिएको हो । गत वर्ष २० लाखि मानिस प्रभावित हुने आँकलन गरिएको थियो । मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्ररुपमा अघि बढिरहेका छन् ।
आइतबार बसेको १८औँ बैठकले उक्त कार्ययोजना स्वीकृतसमेत गरेको छ । कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ ।
त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली’ गोदाम र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारेमा कार्यविभाजन पनि गरिएको छ । पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ’ए क्लास’ एम्बुलेन्स खरिद गरी सातवटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एकवटा रहने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया