काठमाडौं । रक्सी खाएर सवारी चलाउँदा पैदलयात्रीको ज्यान लिएको अभियोग लागेका काठमाडौं बुढानीलकण्ठका पृथ्वी मल्ललाई पाटन उच्च अदालतले चार वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई कैद सजायका अतिरिक्त ४० हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको हो । सवारी चालक अनुमतिपत्रसमेत नभएका मल्लले मदिरा सेवन गरी चलाएको बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा २०७६ मंसिर २८ मा पैदलयात्री लीला देवकोटाको मृत्यु भएको थियो ।
मल्लले अनियन्त्रित रूपमा हाँकेको कारको ठक्करले फुटपाथमा हिँडिरहेकी महिलाको ज्यान गएको घटनामा काठमाडौं जिल्ला अदालतले सामान्य दुर्घटना ठहर गर्दै उनलाई ६ महिना कैद र १ हजार रुपैयाँ मात्र जरिवाना हुने फैसला गरेको थियो ।
लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटना भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले मल्लविरुद्ध ३ देखि १० वर्षसम्मको सजाय र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना माग गरेर मुद्दा दर्ता गराएको थियो ।
सरकारी वकिलको कार्यालयले मल्लले लापरबाहीपूर्वक सवारी चलाएर पैदलयात्रीको ज्यान लिएको अभियोग लगाएको थियो । जिल्ला र उच्च अदालतले मल्ललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएकामा सर्वोच्च अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोज शर्माको इजलासले मल्ल गहिरो डिप्रेसनमा रहेको, दमको बिरामी रहेको देखिएको र कोभिड महामारीका कारणले दमका रोगी उच्च जोखिममा रहेको कारण देखाउँदै मल्ललाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रतिक्रिया