Logo

मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको वयान रोकियो, रायमाझीको शुरु



काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उनीसँगको बयान आजका लागि रोकिएको छ ।

खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ ।

कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन बाँकी रहेकोमा आज बिहानदेखि नै खाणसँगको बयान सुरु भएको थियो । तर सञ्चो नभएको बताएपछि उनीसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो ।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १० : २९ बजे