Logo

मुख्य समाचार

अमेरिकी उपसहायक विदेशमन्त्री नेपाल भ्रमणमा आउने



काठमाडौं । आगामी साता अर्की एक अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर सोमबार काठमाडौं आउने भएकी हुन् । दुईदेखि तीन दिनसम्म नेपाल रहँदा उनले परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत उच्च सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमण सकेर बुधबार मात्र फर्केकी थिइन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की एक सदस्यसमेत रहेकी पावरले दुई दिने नेपाल बसाइमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेकी थिइन् । पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उनले पनि प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटेकी थिइन् ।

अफ्रिन अख्तर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाल आउने तेस्रो अमेरिकी अधिकारी हुनेछिन् । पुस दोस्रो साता नयाँ सरकार बनेपछि अमेरिकाबाट नेपाल भ्रमण बाक्लिएको छ । कम्युनिस्ट वर्चस्वको सरकार भएकाले चीनतिर झुकाव राख्छ कि भन्ने अमेरिकी सशंयबीच वासिङटनबाट तारन्तार उच्चस्तरीय भ्रमण भएका हुन् । विश्वमा अमेरिकाकै रणनीतिक सारथी मानिने युरोपबाट समेत राजनीतिक भ्रमण भइरहेका छन् । क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राईसँग भेटेकी थिइन् । उनी ईयूमा मन्त्री दर्जाकी उच्च अधिकारी हुन् ।

काठमाडौंमा भएका उच्चस्तरीय भेटवार्तामा उनले युक्रेन—रुस द्वन्द्वबारे राष्ट्रसंघमा भएका मतदानमा नेपालले युक्रेनलाई साथ दिएकोमा धन्यवाद दिएकी थिइन् । उनले आगामी दिनमा नेपालले त्यसैगरी स्वतन्त्र विदेश नीति अवलम्बन गर्ने अपेक्षा लिइएको बताएकी थिइन् । भेटमा ईयूले अघि बढाएको भूअर्थराजनीतिक अवधारणा ‘ग्लोबल गेटवे’का बारेमा पनि जानकारी गराएकी थिइन् । ग्लोबल गेटवे ईयूले चीनको बेल्ट एन्ड रोड (बीआरआई) लाई टक्कर दिन ल्याएको कनेक्टिभिटी सम्बन्धी विशेष अवधारणा हो ।

बेलायती रक्षा अधिकारीको भ्रमण जारी
मंगलबार नेपाल आएका बेलायतका रक्षा अधिकारीको भ्रमणचाहिँ जारी छ । डिफेन्स पिुपुल, भेटेरान्स र सर्भिस फ्यामिलिज हेर्ने बेलायतका मन्त्री एन्ड्रयू मोरिसनको भ्रमण गोर्खा सैनिकको मुद्दामा केन्द्रित छ । उनले पनि प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री र रक्षामन्त्री हरि उप्रेतीसँग भेटेका थिए ।

भेटमा बैठकमा भूपू गोर्खा सैनिकका समस्या समाधानका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा भूपू गोर्खाका समस्या समाधान गर्न लन्डनमा भएको पछिल्लो बैठकको प्रगतिबारे जानकारी गराइएको परराष्ट्रले जनाएको छ ।

‘दुवै पक्षले चाँडै नै यो विषय टुंगो लगाउनुपर्ने आवश्यकता महसुस गरे’, परराष्ट्रले विज्ञप्तिमा भनेको छ । सन् २०२३ नेपाल र बेलायतले नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर गरेको १०० वर्ष हो । त्यसैगरी सगरमाथाको पहिलो आरोहणको ७०औँ वर्ष पनि हो । यी दुवै अवसरमा नेपाल र बेलायतमा उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विभिन्न कार्यक्रम आयोजना गर्नेबारे भेटमा छलफल भएको थियो ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ०९ बजे