Logo

मुख्य समाचार

भारतीय विदेश सचिव आगामी सोमबार नेपाल आउँदै



काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वात्रा दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन् ।

अमेरिकाले नेपालमा राजनीतिक सक्रियता बढाएका बेला छिमेकी भारतका तर्फबाट पनि भ्रमण तय भएको हो । राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड अघिल्लो साता नेपाल भ्रमण गरेर फर्केलगत्तै यही साता अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल आइन् ।

त्यसैगरी आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ । क्वात्रा आएकै दिन अख्तर पनि काठमाडौँ उत्रनेछिन् । यही हप्ता अमेरिकाकै रणनीतिक साझेदार एवम् क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन् ।

अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयाँ दिल्ली सशंकित बनेको बताइन्छ । ‘भारतीय विदेश सचिवको भ्रमणको तयारी भइरहेको छ। आज घोषणा हुनेछ’, मन्त्रालय स्रोतले भन्यो ।

गत पुसमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएयया नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन् । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउने भएका हुन् ।

पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए । नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्नेछन् ।

क्वात्राको भ्रमणमा प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणबारे पनि कुरा हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : १० बजे