काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो ।
महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ ।
महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।
‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ ।
यस्तो अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।
मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।
प्रतिक्रिया