काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।
युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो ।
जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनायो ।
मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६, सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३र३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।
मलेसियाकी नुर डानिया अब्दुल सामदले २ तथा एलिस हुन्तरले एक विकेट लिइन् ।
यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा ६ अंक जोडेर तेस्रो स्थान हासिल गरेको छ भने मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गरेको छ ।
प्रतिक्रिया