Logo

समाचार

मतदानस्थल केन्द्रित चुनावी तयारी



बागलुङ । स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मी यहाँका सबै मतदानस्थल पुगेका छन् । भोलि (शुक्रबार) हुने मतदानका तयारी मतदानस्थल केन्द्रित बनेको हो । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जिल्लाका १०३ वटै मतदानस्थलमा मतदान अधिकृतसहित कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पुगिसेकेको जानकारी दिए । ‘सर्वदलीय बैठक राख्नेलगायत मतदानस्थलको व्यवस्थापकीय काम सुरु भएको छ’, उनले भने, ‘आज बिहीबार मतदानस्थलबाटै मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण पनि सँगसँगै हुन्छ ।’

मतदानका लागि ‘बुथ’ निर्माणको काम आजसम्ममा भइसक्ने जनाइएको छ । यहाँका १०३ मतदानस्थलमा २३० मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत गरी पाँच कर्मचारी खटाइएको छ । चुनावलाई स्वच्छ र भयरहित बनाउन जिल्लाभर सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । मतदान केन्दलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति तयार पारेको छ ।

विगतका घटनाको विश्लेषण, मतदाता सङ्ख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दूरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्र वर्गीकरण गरिएको हो । समितिका सदस्य एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिने बताए । बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहने उनको भनाइ थियो ।

जिल्लाभर झण्डै एक हजार म्यादी र ७०० बढी नेपाल प्रहरी सुरक्षामा खटिएका छन् । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ ।

जिल्लामा एक लाख ९३ हजार ६२५ मतदाता रहेकामा महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन् । दसवटै स्थानीय तहका ४६९ जनप्रतिनिधि छान्न यहाँका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । आफूलाई मन परेको उम्मेदवारलाई मत दिन जिल्ला बाहिर रहेका मतदाता पनि गाउँ भित्रिएका छन् । पाँच वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले यहाँको माहोल गर्माएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ११ बजे