Logo

मुख्य समाचार

भारतका विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै


१७ कार्तिक २०८३, सोमबार  

0
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मिश्रीको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री कात्तिक १८ र १९ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

वार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न आयामको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ । दुवै पक्षले लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका विषयमा एजेन्डा तय गर्ने सन्दर्भमा पनि मिश्रीको भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

भ्रमण सम्पन्न गरी मिश्री कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  ५ : ५३ बजे