काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्तामा नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको भनिएको सिन्डिकेट र बिचौलिया प्रणालीप्रति आपत्ति जनाउँदै त्यसको स्थायी समाधानका लागि दुवै देशका श्रम मन्त्रालयबीच प्रत्यक्ष समन्वय आवश्यक रहेको बताएका थिए।
शाहले मलेसियाका प्रधानमन्त्री इब्राहिमलाई आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग प्रत्यक्ष वार्ता गरी समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रणालीको विरोध गर्दै यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरी ठोस समाधान खोज्न निर्देशन दिने बताएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय र संयुक्त पहल अघि बढाउने विषयमा सहमति जनाएका छन्।








प्रतिक्रिया