Logo

समाचार

अर्थमन्त्रीको भारत भ्रमण कत्तिको फलदायी ?




अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको भ्रमण पूरा गरी हिजो साँझ स्वदेश फर्किएका छन् । उनको यो चार दिने भारत भ्रमण दुई देशबीचको आर्थिक र राजनीतिक सम्बन्धमा एक महत्वपूर्ण पाइला रुपमा लिन सकिन्छ । नयाँ सरकार गठन भएपछि नेपाल सरकारका तर्फबाट भारत भ्रमण गर्ने उनी पहिलो उच्च तहका पदाधिकारी हुन् । हालै नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सम्मेलन लगत्तै भएको डा. स्वर्णिमको यो भ्रमणले रणनीतिक महत्व राखेको छ । यस भ्रमणलाई नयाँ दिल्लीले कसरी लिएको छ, नेपालले यसबाट के लाभ प्राप्त गर्न सक्छ र यसको राजनीतिक प्रभाव कस्तो रहला भन्ने विषय धरैको चासोको सन्दर्भ रहेको छ ।
डा. वाग्लेको भ्रमणलाई भारतले सकारात्मक र व्यावहारिक रूपमा लिएको देखिन्छ । भारतीय सञ्चारमाध्यमहरुले पनि भ्रमणलाई महत्व दिएर समाचार सम्प्रेषण गरेको देखियो । डा. वाग्ले अन्तर्राष्ट्रिय अर्थतन्त्र र विकास नीतिमा स्थापित नाम भएकाले भारतीय संस्थापन र बौद्धिक वर्गमा उनको छवि एक ’प्राविधिक’ र ’परिणाममुखी’ नेताको रूपमा छ । ब्रिक्स सम्मेलनमा विश्वव्यापी आर्थिक ध्रुवीकरण र क्षेत्रीय साझेदारीबारे छलफल भएको थियो । लगत्तै नयाँ दिल्लीले नेपालका अर्थमन्त्रीलाई स्वागत गर्नुले भारत छिमेकी देशहरूसँगको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन चाहन्छ भन्ने सङ्केत गर्छ । भारतीय पक्षले यो भ्रमणलाई केवल परम्परागत राजनीतिक शिष्टाचारमा सीमित नराखी नेपालमा ठोस लगानीका अवसरहरू पहिल्याउने माध्यमको रूपमा हेरेको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले “नेपालमा लगानी गर्न अहिले सबैभन्दा उपयुक्त समय“ भएको भन्दै भारतीय लगानीकर्ताहरूलाई स्पष्ट आह्वान गरे । नेपालले हालैका वर्षहरूमा नीतिगत सुधार, कानूनी सहजता र जलविद्युतलगायतका क्षेत्रमा गरेको प्रगतिलाई उनले भारतका सरकारी तथा निजी क्षेत्रका नेतृत्वसामु सशक्त ढङ्गले प्रस्तुत गरे । यस भ्रमणबाट नेपालले तत्काल र दीर्घकालीन रूपमा आर्थिक लाभहरू प्राप्त गर्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
जसमा पहिलो हो– प्रत्यक्ष वैदेशिक लगानी । भारतीय बहुराष्ट्रिय कम्पनीहरूले नेपालको ऊर्जा, पर्यटन, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी बढाउन चासो देखाएको उनले नेपाली मिडियामा उल्लेख गरेका छन् । यस्तै व्यापार घाटा न्यूनीकरण र ऊर्जा व्यापार बढाउनसमेत भारतीय पक्ष सकारात्मक रहेको उनले उल्लेख गरेका छन् । नेपालले उत्पादन गरिरहेको बचत विद्युतलाई भारतीय बजारमा सहज पहुँच र दीर्घकालीन व्यापार सम्झौताका लागि यस भ्रमणले वातावरण थप सहज बनाएको उनको दावी छ ।
यस्तै डा. वाग्लेको भ्रमणका बेला कनेक्टिभिटी र सीमापार पूर्वाधारका विषयमा समेत गम्भिर छलफल भएको छ । डिजिटल भुक्तानी प्रणालीको विस्तार र सीमापार यातायात सहज बनाउने विषयमा भएका छलफलले दुई देशबीचको आर्थिक गतिविधिलाई तीव्र बनाउने विश्वास दुबै पक्षका अधिकारीहरुले व्यक्त गरेका डा. वाग्लेको दावी रहेको छ ।
सबैभन्दा महत्वपूर्ण विषय भनेको उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्वन्धलाई समेत थप उँचाइमा पु¥याएको । दुई देशबीचको सम्बन्धमा परिपक्वता र सन्तुलन मिलाउन पनि भ्रमण फलदायी भएको उनको दावी रहेको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा, नयाँ सरकार बनेलगत्तै भएको यो भ्रमणले काठमाडौँ र नयाँ दिल्लीबीच हुनसक्ने सम्भावित अविश्वास वा ’पर्ख र हेर’ को अवस्थालाई तोड्न मद्दत गरेको छ ।
डा. वाग्लेको भ्रमणले नेपालको नयाँ सरकार भारतसँग व्यावहारिक, आर्थिक र विकास–केन्द्रित सम्बन्ध राख्न इच्छुक छ भन्ने बलियो राजनीतिक सन्देश दिएको छ । यस भ्रमणको राजनीतिक प्रभावलाई समग्रमा फलदायी मान्न सकिन्छ । परम्परागत रूपमा नेपाल–भारत सम्बन्ध राजनीतिक र सुरक्षाका मुद्दामा बढी केन्द्रित हुने गरेकोमा यस पटक आर्थिक साझेदारीलाई केन्द्रमा राखिएको देखियो । यसले दुई देशको सम्बन्धमा परिपक्वता आएको सङ्केत गर्छ । साथै, क्षेत्रीय सन्तुलन मिलाउनसमेत भ्रमणले बल प्रदान गरेको छ । ब्रिक्स सम्मेलन लगत्तै भएको यो भ्रमणले नेपालले भू–राजनीतिक संवेदनशीलतालाई बुझेर छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र आर्थिक लाभको दिशामा अघि बढाउन खोजेको देखिन्छ । निष्कर्षमा भन्नुपर्दा अर्थमन्त्री डा. वाग्लेको भारत भ्रमण परम्परागत राजनीतिक गफगाफ भन्दा माथि उठेर आर्थिक कूटनीति सञ्चालन गर्न सफल भएको देखिन्छ । नयाँ दिल्लीले यसलाई नेपालको नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्ने अवसरको रूपमा लिएको छ । तथापि, भ्रमणका क्रममा व्यक्त गरिएका प्रतिबद्धता र लगानीका आह्वानहरूलाई वास्तविकतामा बदल्न नेपालले आफ्ना देशभित्र नीतिगत स्थिरता, प्रशासनिक सहजता र छिटो निर्णय गर्ने परिपाटीको विकास गर्न जरुरी छ । यदि नेपालले यी सुधारहरू गर्न सक्यो भने यो भ्रमण नेपालको आर्थिक रूपान्तरणका लागि एउटा प्रस्थानविन्दु बन्न सक्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ५ : २९ बजे