Logo

समाचार

राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना



काठमाडौं । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना अत्यन्तै कठिन बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो विस्तारै ठूलो ट्युमरमा परिणत भयो। करिब ६ महिनाको अवधिमा ट्युमर यति धेरै बढ्यो कि टाउकोभन्दा नै ठूलो देखिन थाल्यो। चिकित्सकहरूले तत्काल उपचार आवश्यक रहेको बताए पनि कमजोर आर्थिक अवस्थाका कारण सुरेश उपचारको खर्च जुटाउन असमर्थ थिए।

आशा नहार्दै उनले विभिन्न माध्यमबाट सहयोग जुटाएर पटक–पटक एमआरआई गराए। रोगको अवस्था पत्ता लागे पनि शल्यक्रिया र उपचारका लागि आवश्यक रकम अभाव हुँदा राधिकालाई अस्पताल भर्ना गर्न सकिएको थिएन।

यही क्रममा जेन–जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीले सुरेशले सामाजिक सञ्जालमार्फत गरेको सहयोगको अपिल देखिन्। त्यसपछि उनले काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्। जेन–जी आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क उपचार तथा कुरुवाको बसोबास र खानपानको व्यवस्था मिलाएको मानवीय कार्यबारे जानकारी भएकाले कार्कीले शर्मासँग सहयोगको आग्रह गरेकी थिइन्।

राधिकाको अवस्था देखाउने भिडियो हेरेपछि सुनील शर्माले तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरे। कुनै जटिल प्रक्रिया वा लामो प्रतीक्षाविना उनले राधिकाको सम्पूर्ण उपचारको जिम्मेवारी लिने प्रतिबद्धता जनाए।

त्यसपछि काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स राधिकालाई लिन उनीहरूको पायक पर्ने स्थानमा पुग्यो। सुरेश, राधिका र उनीहरूको सानो सन्तान उपचारको आशा बोकेर केएमसी पुगे। खबर पुगेको केही घण्टामै राधिकालाई केएमसी दुवाकोट युनिटको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पताल पुग्नुअघि नै उनको उपचारका लागि चिकित्सकहरूको टोली तयारी अवस्थामा रहेको बताइएको छ।

आफ्नी श्रीमतीको उपचार सुनिश्चित भएपछि भावुक बनेका सुरेशले अस्पतालमा भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ।’

सुरेशको परिवारले राधिकालाई अस्पतालसम्म पु¥याउन पहल गर्ने किशोरी कार्कीप्रति आभार व्यक्त गरेको छ। उपचार सुरु भएपछि उनले सुनील शर्माप्रति पनि धन्यवाद व्यक्त गरेका छन्। आफ्नो आग्रह स्वीकार गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाएकोमा किशोरी कार्कीले पनि शर्माप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

हाल राधिकाको उपचार काठमाडौं मेडिकल कलेजमा जारी छ। परिवारका सदस्य तथा शुभेच्छुकहरूले उनी पूर्ण रूपमा स्वास्थ्यलाभ गरी आफ्ना सन्तानसँग सामान्य जीवनमा फर्किने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : २७ बजे