Logo

समाचार

झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली


१ श्रावण २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।

शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।

उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने शैली अहिले गोएबल्सभन्दा पनि महागोएबल्स शैली बनेको छ।’

ओलीले यस्तो दुष्प्रचारको सबैभन्दा बढी निशाना एमाले बनेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई सचेत हुन आग्रह गरे।

उनले एमाले नयाँ शैली र कार्यपद्धतिका साथ अघि बढ्ने बताउँदै केही धक्का लागेको भए पनि पार्टी समाप्त नभएको स्पष्ट पारे।

‘हामी नयाँ शैली र परिपाटीले अघि बढ्छौँ। हामीले धक्का खाएका छौँ, सिद्धिएका होइनौँ,’ उनले भने।

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याउने प्रयास अझै जारी रहेको दाबी गर्दै एमाले आफ्नै बलमा स्थापित भएको स्वतन्त्र राजनीतिक शक्ति भएको बताए।

‘हामी यस्तो लहरो होइनौँ, जसले अर्कोलाई नसमाती उठ्न सक्दैन। हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ। हामी अरूको बलमा नभई आफ्नै बलमा उम्रँदै, हुर्कंदै अनेक चुनौतीको सामना गर्दै यहाँसम्म आइपुगेका छौँ,’ उनले भने।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  ३ : १० बजे