काठमाडौं । पत्रकार ऋषि धमलाले सञ्चार गृहमा डर, त्रास र अवरोध सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन्। नेपाल न्यूजबैंकसँगको कुराकानीमा उनले पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा भइरहेका आक्रमण तथा सञ्चार गृहलाई लक्षित गतिविधिप्रति आपत्ति जनाएका हुन्।
धमलाले सञ्चार गृहको गेटमा सवारीसाधन पार्किङ गरेर अवरोध सिर्जना गर्ने र त्रास फैलाउने कामको कडा शब्दमा निन्दा गरे। उनले यस्तो गतिविधिले अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाउने बताए।
उनले कान्तिपुर मिडिया ग्रुप, हिमालयन टेलिभिजन र अनलाइनखबरको गेटमा लामो समयसम्म सवारीसाधन पार्किङ गरिएको घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरे। घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।
उनले भने,‘कुनै पनि सञ्चार गृहमा आक्रमण गर्नु अथवा पार्किङको नाममा अवरोध सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्धको कार्य हो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी जहिल्यै उभिन्छौँ।’
उनले लोकतन्त्रमा फरक विचार र दृष्टिकोणलाई स्वीकार गर्नुपर्ने भन्दै सञ्चार माध्यमले समाचार लेखेकै आधारमा डर, धम्की र दबाब सिर्जना गर्ने प्रयास स्वीकार्य नहुने बताए।
धमलाले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस विषयमा वक्तव्य जारी गरिसकेको उल्लेख गर्दै सरकारले मिडिया हाउसमाथि हुने यस्ता गतिविधि रोक्न स्पष्ट कदम चाल्नुपर्ने बताए।
‘नेपाली सञ्चार जगत जस्तोसुकै परिस्थितिमा पनि निर्भीक भएर स्वतन्त्र रूपमा सञ्चार सम्प्रेषण गर्न कहिल्यै सम्झौता गर्दैन,’ उनले भने।
उनले सरकारलाई सञ्चार गृह र सञ्चारकर्मीलाई धम्की दिने वा त्रास सिर्जना गर्ने काम तत्काल बन्द गर्न आग्रह गरे। यदि सरकारको संलग्नता नरहेको भए पनि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।
यसैबीच धमलाले सरकारले सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णय गलत भएको बताए। उनले सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरेको विषयको स्वागत गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने धारणा राखे।
उनले अदालतले लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्णय गरेको भन्दै न्यायालयप्रति धन्यवाद व्यक्त गरे।








प्रतिक्रिया