Logo

मुख्य समाचार

पश्चिम नेपालमा मनसुन पुग्न अझै ४–५ दिन, वर्षायामजस्तो वर्षाका लागि थप एक साता प्रतीक्षा



काठमाडौं । पश्चिम नेपालमा मनसुनी वायु पुग्न अझै ४–५ दिन लाग्ने भएको छ। जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार अनुकूल मौसमीय प्रणाली विकास भइरहेकाले आगामी केही दिनभित्र मनसुन सुदूरपश्चिम प्रदेशसम्म फैलिने सम्भावना रहेको छ।
उनका अनुसार असार ५ गते कोसी प्रदेशबाट प्रवेश गरेको मनसुनी वायु असार ८ गतेसम्म लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मात्र पुगेको छ। पश्चिमतर्फ विस्तारको क्रम जारी रहे पनि वर्षायामजस्तो निरन्तर वर्षा हुन भने अझै करिब एक सातादेखि १० दिन लाग्ने उनले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, मधेस र वाग्मती प्रदेशका सबै भूभाग, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
विभागले मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावाको लहर जारी रहने पूर्वानुमान गरिएको छ।
उप्रेतीका अनुसार पूर्वी नेपालमा भने बीच–बीचमा हुने वर्षाले खेतीपाती, वातावरण र वनस्पतिलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : १५ बजे