Logo

समाचार

वैदेशिक रोजगारीका क्रममा ११ महिनामा १,४३८ नेपालीको मृत्यु



काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका क्रममा १ हजार ४३८ नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्म उक्त संख्यामा नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका हुन्।

बोर्डका अनुसार गत जेठ महिनामा मात्रै विभिन्न मुलुकमा कार्यरत १४४ नेपालीको मृत्यु भएको छ। चालु आर्थिक वर्षको तथ्यांकले वैदेशिक रोजगारीका क्रममा प्रत्येक महिना औसत १३० जनाभन्दा बढी तथा दैनिक चारजनाभन्दा बढी नेपालीको मृत्यु हुने गरेको देखाएको छ।

बोर्डको विवरणअनुसार पछिल्लो १० वर्ष ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या १२ हजार १३२ पुगेको छ।

आर्थिक वर्ष २०७२/७३ मा ८१६ जना, २०७३/७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४२ जना, २०७८/७९ मा १ हजार ३९५ जना, २०७९/८० मा १ हजार २०८ जना, २०८०/८१ मा १ हजार ४५८ जना तथा २०८१/८२ मा १ हजार ५८३ जना नेपालीले विदेशमा ज्यान गुमाएका थिए।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामै १ हजार ४३८ जनाको मृत्यु भइसकेको तथ्यांकले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, स्वास्थ्य तथा कार्यस्थल व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। बोर्डले मृत्युका कारण र प्रभावित परिवारलाई उपलब्ध गराइने सहायता सम्बन्धी विवरण भने सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ३ : ५३ बजे