रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–५मा अवस्थित ऐरम्बास शारदादेवी मन्दिर आकर्षक रमणीय र ऐतिहासिक धार्मिकस्थल भएपनि प्रचारको अभावले ओझेलमा परेको छ ।
सदरमुकाम मन्थली नजिकैको प्राकृतिक सौन्दर्यको धार्मिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि मन्थलीकै धेरै मानिसहरू यहाँ पुगेका छैनन् । यो मन्दिर प्राकृतिक र सांस्कृतिक हिसाबले त सौन्दर्य छँदै छ मन्थलीको गर्मी छल्ने र घुम्ने उपयुक्त थलो पनि बन्नसक्छ ।
सदरमुकाम मन्थलीबाट कठजोर, पाहुनघर हुँदै एक घण्टामा नै ऐरम्बास पुग्न सकिन्छ । आफ्नो सवारी साधन हुने वा भाडामा सवारी साधन लिएरपनि मन्थलीबाट घुम्न जाने सबैभन्दा नजिकको धार्मिक र रमणीयस्थल यो देवीस्थान बन्नसक्छ ।
ऐरम्बास शारदादेवीलाई स्थानीयले मागेको कुरा पूरा गर्ने र रक्षा गर्ने देव भनेर आस्थाको रूपमा पूजा गर्ने गर्दछन् ।
स्थानीय वेदनाथ जोगी सो मन्दिरमा पूजा गर्दा मनोकाङ्क्षा पुरा हुने बताउँछन् । मन्दिरआसपासका मात्र होइन काठमाडौं, सिन्धुली, दोलखा, ओखलढुंगा लगायतका मानिसहरू समेत यो मन्दिरमा पूजा गर्न आउने उनले बताए ।
मन्दिरमा पाठी र परेवा भोग दिने प्रचलन रहँदै आएको छ । मन्दिरमा पूजा गरेको प्रसादी घर लगेर खान नमिल्ने भएकोले त्यहीँ पकाएर खाने प्रचलन छ ।
मन्दिर आसपासका मानिसहरूले मन्दिरमा वर्षको एउटा पाठी अनिवार्य पूजा गर्ने प्रचलन रहँदै आएको छ । स्थानीयले भने घरमा लगेर पकाएर खान मिल्ने चलन छ । मन्दिरमा आइतबार, बुधबार र शनिबार भोग दिने प्रचलन छ ।
ती दिन कतै न कतैबाट भोग दिन आउने मानिसहरू हुने मन्दिरका पुजारी यमबहादुर बुढाथोकी बताउँछन् । पहिला ठुला ठुला चाँपका रुख मुनि देवीको शीला रहेका तर पछि ती रुख ढलेको उनले जानकारी दिए ।
अहिले मन्थली नगरपालिकाले मन्दिरको संरक्षण तथा दर्शनार्थीलाई पकाउन, खान सहज होस् भनी दुईवटा सत्तल निर्माण गरिदिएको उनले बताए ।
मन्दिरको छेउमा रहेको सानो कुवाको पानी जति निकाल्दा पनि नसकिने उनले बताए । मन्दिरको ढलान गर्दा मन्दिरमा बाघ पसेर निस्किएको पनि बुढोकीले सुनाए ।
कहावत अनुसार सिन्धुलीबाट ओखलढुङ्गा बेहुली लिएर गएका जन्तीहरू पानीको कुवा र चौर पनि भएकोले सोही स्थानमा बास बस्दा राति बेहुलीलाई बाघले खाएपछि देवी प्रकट भई ओखलढुङ्गाको एसममा बसेकीमा पछि कसैको आङमा आएर आफूलाई बाघले खाएकै ठाउँमा लगेर राखिदिनु भनेपछि ऐरम्बासमा नै ल्याएर देवी स्थापना गरेको मान्यता छ । यी देवीलाई मागेको कुरा पूरा गराइदिने देवीको रूपमा सबैले पूजा गर्ने गरेको पुजारी बुढाथोकी पनि बताउँछन् ।
कहावत जेजस्तो जोडिए पनि यो देवीको मन्दिरलाई निक्कै पूरानो मानिन्छ । प्राकृतिक रूपमा अति रमणीय र चिसो ठाउँमा रहेकोले यसको थप महत्त्व छ । यसको प्रचार र थप व्यवस्थित गर्न सके मन्थली बस्ने र मन्थली घुम्न आउनेको लागि यो उचित गन्तव्य हुनेछ ।








प्रतिक्रिया