Logo

समाचार

‘कुडा कर्नालीका’मा उमा वादीको विद्धत प्रवचन : पढाईको होइन, पीडाको डिग्री सुनाउँदै छु’



सुर्खेत । जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका…..’ कर्णाली उत्सवको स्टेजमा पुगिन् त्यतिबेला निकै भावुक पनि देखिइन् । कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधि पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन वादी समुदायको जीवन भोगाई, भोग्नु परेको विभेद र उत्पीडनका श्रीखंलाहरु शब्दमा उतारिन् ।

‘धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन्’ आफ्नो प्रवचनको सुरुवातमै आफूले कम पढेकोमा पछुतो मान्दै भनिन्, ‘स्कूल धेरै धाएँ हजुर तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवन भोगाइ र पीडाको डिग्री अवश्य छ ।’ वादी समुदायको फिरन्ते जीवनशैली, जीवन धान्नकै लागि गर्नु परेको कठोर संघर्ष, परम्परागत समाजमा वादी समुदायले भोग्नु परेको उत्पीडनका कारण आफूले पढ्न नपाएको उनले गुनासो गरिन् ।
सल्यानमा जन्मिएर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर हुँदै भारतको कुमाउ र गडुवालसम्म पुगेको आफ्नो बाल्यकालको कथा पनि उनले सुनाइन् । बादी समुदाय भन्ने वित्तिकै देह व्यपारलाई सम्झने हाम्रो परम्परागत मान्यताका कारण पनि थुप्रै विभेद र अपमान सहनु परेको उनको भोगाइ छ ।
‘वादी भन्ने वित्तिकै महिलाहरुलाई देह व्यापारमा लगाउने समुदाय भन्ने बुझाइ छ’ उनले भनिन्, ‘सबै वादी समुदायमा यो पेशा नभए पनि सामाजिक दृष्टिकोण यही छ ।’ देह व्यापार पनि कुनै समय समुदायको लागि बाध्यता भएको बताइन् ।
उमा वादी कर्णाली र सुदूरपश्चिमको भूगोललाई जोड्ने ऐतिहासिक वादी आन्दोलनकी अगुवा हुन् । उनी सुदूरपश्चिम प्रदेशसभाकी पूर्व सदस्य पनि हुन् । उनले समुदायको मुक्ति र विभेदविरुद्ध आवाज उठाउँदाका अनुभुतीहरु सबिस्तार सुनाईन् । त्यही संघर्षले वादी र दलित समुदायले भोग्दै आएको विभेदमा कमी भए पनि पूर्ण रुपमा अधिकार पाउन नसकेको बताइन् । सल्यानमा जन्मिएर कर्मथलो सुदूरपश्चिम बनाएकी उमाले समुदायको आत्म सम्मानका लागि गरेको ४८ दिने ऐतिहासिक आन्दोलन र त्यसपछिका उपलब्धिबारे स्मरण गरिन् ।
वादी समुदायको आन्दोलन केवल एउटा जात विशेषको मात्र नभई सम्पूर्ण नेपाली महिलाको आत्मसम्मानको लडाइँ भएको उमाको ठहर छ । त्यही लडाइँकै कारण आमाको नामबाट नागरिकता र जन्मदर्ता पाउने अधिकार केवल वादीका लागि मात्र नभई देशका सम्पूर्ण महिला र दलित महिलाहरूको लागि ठुलो उपलब्धि भएको उनको भनाई छ ।
उनले समाजमा व्याप्त जातीय विभेदविरुद्धको लडाइँमा मात्र होइन् प्रदेश सभा सदस्य भइसकेपछि पनि आफुले विभेद भोग्नु परेको तितो यथार्थ सुनाइन् । प्रदेशसभा सदस्य निर्वाचित भइ कानून बनाउने थलोमा पुग्दापनि जातकै कारण आफुले कोठा भाडासमेत नपाएको उनले बताइन् ।

‘म जनप्रतिनिधी भएकै अवस्थामा समेत ‘वादी’ भएकै कारण मैले कोठा भाडामा पाउन पनि निकै गाह्रो भयो’ उनले भनिन्, ‘कोठा खाली छ भनेर देखाउने घरबेटीले जब मेरो नाम सुन्थे, अनि कोठा दिन इन्कार गर्थे ।’
वादी भएकैले सभामुखको पहलमा सरकारी कार्यालयको एउटा कोठामा बसेर सदन धाउनुपरेको पीडा उनले सुनाइन् । वादी समुदायलाई हेर्ने परम्परागत दृष्टिकोण संकुचित भएको भन्दै परिवर्तन गर्न जरुरी भएको उनको भनाइ छ । देह व्यापार गर्छन् भन्ने बुझाइका कारण वादी समुदायका महिलाहरुले अहिले पनि सामाजिक अपमान सहनु परेको उनको भनाई छ । ‘सबै वादी महिलाहरू यौन पेशामा छैनन् भन्ने तथ्य समाजले अझै स्वीकार गरेको छैन’ उनले भनिन्, ‘बादी समुदायको आर्थिक र सामाजिक सुधार गर्न सके मात्र समुदायलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न सकिन्छ ।’
वादी समूदाय भुमीहीन भएर खोलाको किनार, जंगलका ओडारमा बस्नु परेको भन्दै त्यसका लागि सरकारले गास, बास र कपाससंगै शिक्षाको ग्यारेन्टी हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ४७ बजे