काठमाडौं । वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ की ५५ वर्षीया मिना घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी घिमिरेले पीडित युवालाई अष्ट्रेलियामा आकर्षक तलब हुने रोजगारी मिलाइदिने भन्दै विश्वासमा पारेकी थिइन् । उनले प्रक्रियाका लागि भन्दै पटक–पटक गरी कुल १२ लाख रुपैयाँ रकम असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रकम बुझेपछि लामो समयसम्म न त विदेश पठाइन्, न त पीडितको सम्पर्कमा नै रहिन् । आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले घिमिरेको खोजी सुरु गरेको थियो ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई चैत ३ गते काठमाडौं महानगरपालिका–१४ बाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) मनोहर प्रसाद भट्टका अनुसार पक्राउ परेकी घिमिरेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र अपरिचित व्यक्तिलाई ठूलो रकम नबुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।










प्रतिक्रिया