Logo

समाचार

रामेछापका ग्रामीण भेगमा पनि आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्यो



रामेछाप । रामेछापका ग्रामीण भेगमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ–गाउँमा सञ्चालन गर्ने गरेको स्वास्थ्य शिविर तथा टोल टोलमा स्वास्थ्य सेवा घरदैलो कार्यक्रममा सेवा लिनेहरूको उपस्थितिले आयुर्वेद उपचार प्रतिको नागरिक आकर्षण देखाएको हो ।
चिकित्सालयले शनिबार जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन् । बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपककुमार कार्कीले जानकारी दिए ।
गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा भएको सो शिविरमा डा. सविता भण्डारी, डा. उत्तम गैरे, डा.अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविरमा दम, हाडजोर्नीको दुखाई, ग्यास्टिक, खोकी, एलर्जी लगायत छालाको विभिन्न पुराना रोगका बिरामीहरूको सङ्ख्या बढी देखिएको डा भण्डारीले जानकारी दिइन् ।
गाउँमा नै शिविर सञ्चालन हुँदा आफूहरूलाई सेवा लिन निक्कै सहज भएको स्थानीयले बताएका छन् । स्थानीय पूर्णबहादुर कार्कीले हिँड्न नसक्ने जेष्ठ नागरिक, महिला लगायतलाई गाउँमा नै शिविर सञ्चालन हुँदा निक्कै राहत भएका बताए ।
चिकित्सालयले स्थानीय तहको माग अनुसार जिल्लाका सबै क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने योजना बनाएको चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नबराज पथिकले जानकारी दिए ।
चिकित्सालयले स्वास्थ्य शिविर बाहेक मन्थली र आसपासका क्षेत्रमा साप्ताहिक रूपमा घरदैलो सेवा पनि दिइरहेको छ । विभिन्न टोलहरूमा गएर दिइने सो कार्यक्रममा पनि स्थानीयको उल्लेख्य उपस्थिति रहने गरेको चिकित्सालयका डाक्टर उत्तम गैरे बताउँछन् । यस्तो जाँच गर्दा उच्च रक्तचाप र मधुमेहका बिरामीहरू निक्कै भेटिएका गैरेले बताए । त्यस्ता बिरामीलाई चिकित्सालयमा बोलाएर थप परीक्षण गरी उपचार गर्ने गरिएको उनले जानकारी दिए ।
चिकित्सालयले बिरामी जाँचका साथै निःशुल्क औषधि वितरण, पूर्वकर्म÷पञ्चकर्म, फिजियो थेरापी, अकुपञ्चार, प्याथोलोजी ल्याब, स्तनपाई आमा कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन लगायतका सेवाहरू दिँदै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ५८ बजे