Logo

मुख्य समाचार

नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने


३० फाल्गुन २०८२, शनिबार  

46
Shares

काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को आयोजनामा सञ्चालित तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ शनिबार सम्पन्न भएको छ ।

‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८, २९ र ३० गते आयोजित एक्स्पोले नेपाली औषधि उद्योगमा अपनाइएका नवीन प्रविधि, उपकरण र उत्पादन क्षमताको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरेको थियो ।

यो एक्स्पो सङ्घले प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रचलित कार्यक्रमको दशौँ संस्करण हो ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले औषधि उद्योगको वर्तमान अवस्था र उद्देश्यबारे जानकारी दिँदै नेपालमा अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेको बताए ।

उनले भने, ‘विश्व परिवेशमा विकसित प्रविधिहरू नेपालमा आत्मसात भइरहेको छ । हामीले अत्याधुनिक मेसिन, उपकरण र औजार प्रयोग गर्दै औषधि निर्माण गरिरहेका छौं । हाम्रो मुख्य उद्देश्य प्रविधि प्रदर्शन गर्नु हो, जसले उपभोक्तामा विश्वास बढाउँछ । यो एक्स्पोमा प्रस्तुत भएका सबै उपकरण र प्रविधि नेपाली औषधि उद्योगमा प्रयोगमा छन् । औषधि बनाउने प्रविधि लगातार परिवर्तन हुँदै गइरहेको छ र अत्याधुनिक प्रविधि प्रयोग गरी गुणस्तरीय उत्पादन सुनिश्चित गर्दैछौं ।’

उनले औषधि उद्योगमा नीतिगत सुधार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सम्भावनामा जोड दिँदै नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

उनले भने, ‘प्रविधि मात्र पर्याप्त छैन, नीति पनि नयाँ हुनुपर्छ । नयाँ सरकारले व्यवसायीसँग सहकार्य गरेमा नेपाल औषधि क्षेत्रमा भारत र बंगलादेश जस्ता देशसँग प्रतिस्पर्धा गर्न सक्छ । विदेशी कम्पनीहरूले हामीमाथि गुणस्तरसम्बन्धी आरोप लगाउँछन्, तर हामी अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गर्छौं । मूल्यको हिसाबले पनि स्पष्ट छौं; नेपालले उत्पादन गरेको औषधि संसारकै सस्तोमा उपलब्ध हुन्छ ।’

यस्तै, म्याग्नस फार्मा प्रालिमा प्रबन्धक निश्चल जोशीले गुणस्तर सुधार, नयाँ प्रविधि, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताउँछन् ।

‘विगत १० वर्षमा नेपाली फार्मास्यूटिकल कम्पनीहरूको बजार हिस्सा उल्लेखनीय रूपमा बढेको छ । पहिले नेपाली कम्पनीहरूको मार्केट शेयर ३०–४० प्रतिशत थियो भने अहिले ५० प्रतिशतभन्दा माथि पुगेको छ,’ उनले भने, ‘गुणस्तर सुधार, नयाँ प्रविधि अपनाउने, नयाँ कम्पनीहरूको उदय र पुराना कम्पनीहरूको अपडेटले गर्दा नेपाली कम्पनीहरू अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेका छन्। हामीले मोरिसेस र भेनेजुएलामा पनि निर्यात गरिसकेका छौं, तर अझ बढी निर्यातका लागि राज्यको सहयोग र नीति लचिलो हुन आवश्यक छ ।’

स्वास्थ्य पत्रकार संघका अध्यक्ष भिषा काफ्ले नेपालमा उत्पादित औषधिहरू गुणस्तरीय नभएको भन्ने अफवाह गलत रहेको बताउँछन् ।
उनका अनुसार गुणस्तरमा भएको कमजोरी वा त्रुटीहरू समयसापेक्ष सुधार गर्न सके नेपाली औषधि उद्योग विश्वस्तरमा प्रतिस्पर्धी बन्न सफल हुनेछ ।
एक्स्पोमा सहभागी कम्पनीहरूले नयाँ उत्पादन र प्रविधि प्रदर्शनीमार्फत स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र गुणस्तरमा भएका सुधारको प्रत्यक्ष अवलोकन गराएका थिए ।

एक्स्पो तीन दिनमा २५ हजार बढीले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पोमा २०० भन्दाबढी प्रदर्शनी कक्ष थिए भने कुल प्रदर्शनी कक्षमध्ये ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता थियो ।

एक्स्पोले नेपाली औषधि उद्योगको क्षमता, गुणस्तर र निर्यातको सम्भावनालाई प्रदर्शन गर्दै स्वास्थ्य क्षेत्रमा नेपालले अगाडि बढिरहेको प्रगतिलाई जनसमक्ष ल्याएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ६ : ११ बजे