सुर्खेत । सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनामा निष्पक्ष छानबिनको माग सुर्खेतमा प्रदर्शन गरिएको छ।
मृतकका आफन्त र अधिकारकर्मीहरुले ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’, ‘इनिशालाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’ जस्ता नारासहित पीडित परिवार र आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।
शनिबार बिहान घरबाट निस्किएकी इनिशा अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
इनिशामाथि बलात्कार भएको वा नभएकोबारे चिकित्सकीय रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा शनिबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन् । बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी दिएको इनिशाकी आमाले जानकारी दिईन् ।
घटनास्थल इनिशाको रक्ताम्मे शरिर, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको देखेपछि आफूपनि बेहोस् भएको इनिशाकी आमाले बताईन् । इनिशाको सामुहिक बलात्कार पछि हत्या भएको हुनसक्ने आशंका आफन्तले गरेका छन् । उनका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक अनुसन्धानबाट इनिशामाथि बलात्कारपछि मृत्यु भएको देखिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । इनिशाको हत्या भएको भन्दै आफन्तले दोषिलाई कारवाही नभएसम्म सब नबुझ्ने अडान लिएका छन् ।










प्रतिक्रिया