Logo

मुख्य समाचार

पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट


२५ फाल्गुन २०८२, सोमबार  

230
Shares

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार एवं युवा समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई र मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् ।

अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै एक विशेष सन्देश जारी गर्दै खत्रीले जनमतलाई शिरोधार्य गर्ने बताएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी एवं नवनिर्वाचित सांसद सुदन गुरुङलाई सफल कार्यकालको शुभकामना दिँदै गोरखाको विकासका लागि रचनात्मक सहकार्यको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

खत्रीले हिमालपारिदेखि गण्डकी र दरौंदीका फाँटसम्म फैलिएको गोरखा १ को भूगोल चुनौतीपूर्ण र सम्भावनायुक्त रहेको उल्लेख गर्दै भनेका छन्,‘यहाँको माटोको भावना, जनताको आवश्यकता र भविष्यको आकांक्षालाई केन्द्रमा राखेर अघि बढ्न म उहाँलाई (सुदन गुरुङ) हार्दिक आग्रह गर्दछु। चुनावी प्रतिस्पर्धा सकिएको छ, अब गोरखाको समृद्धिका लागि मेरो सधैँ साथ रहनेछ ।’

आफूलाई उम्मेदवार बनाएकोमा नेपाली कांग्रेस पार्टीप्रति कृतज्ञता प्रकट गर्दै खत्रीले आफ्नो पक्षमा अहोरात्र खटिने नेता, कार्यकर्ता र शुभेच्छुकको पसिना र समर्पणलाई आफ्नो अमूल्य पुँजी भनेका छन् । नतिजा आफ्नो पक्षमा नआए पनि मतदाताले देखाएको प्रेम र विश्वासलाई जीवनभर सम्झिरहने उनको भनाइ छ ।

‘मप्रति भरोसा राखेर मतदान गर्नुहुने सम्पूर्णसँग म क्षमा पनि चाहन्छु । तपाईँहरूको अथक मेहनत र विश्वासलाई मैले चुनावी नतिजाको गन्तव्यसम्म पु¥याउन सकिन’ खत्रीले भावुक शैलीमा व्यक्त गरेका छन् ।

विगत १५ वर्षदेखि गोरखाको सामाजिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय खत्रीले चुनावी हारले आफ्नो सेवाको यात्रा नरोकिने समेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘तपाईँहरूसँगको मेरो सम्बन्ध कुनै सांसदको पद वा राजनीतिक शक्तिमा मात्र सीमित छैन । हाम्रो सम्बन्ध त यो पवित्र माटो, साझा सङ्कल्प र रगत–पसिनाले गाँसिएको आत्मीय नाता हो ।’

आफू हिजो पनि जनताको सुख–दुःखको सारथि रहेको र भोलिका दिनमा झन् बढी जिम्मेवार बनेर सामाजिक अभियानमा सक्रिय रहने प्रतिबद्धताका पनि गरेका छन् ।

राजनीतिक वृत्तमा खत्रीको यो अभिव्यक्तिलाई एक ‘संस्कारी र परिपक्व राजनीतिक चरित्रको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४५ बजे