मुस्ताङ । हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ ।
विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो ।
मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर पुगिरहेका छन् । पुस–माघको चिसोका कारण सुस्ताएको आगमन फागुन लागेसँगै पुनः बढेको छ, जसले धार्मिक पर्यटनको सिजन सुरु भएको संकेत दिएको छ ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बी दुवैका लागि पवित्र तीर्थ हो । तर यहाँ आउने पर्यटक केवल दर्शनमै सीमित छैनन् । हिमालको काखमा रहेको शान्त वातावरण, १०८ धारा, प्राकृतिक दृश्य र हिमाली संस्कृति हेर्न आउने पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढ्दो छ ।
पर्यटकहरू मुक्तिनाथसँगै आसपासका हिमाली गन्तव्यतर्फ पनि आकर्षित भइरहेका छन् । विशेषगरी जोमसोम क्षेत्रको पदयात्रा, कागबेनी भ्रमण र कालीगण्डकी उपत्यकाको दृश्यावलोकन पर्यटकको रोजाइमा पर्न थालेको छ । यसले मुस्ताङलाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।
पर्यटक आगमन बढेसँगै होटल, लज, रेस्टुरेन्ट, जीप सेवा, घोडा सेवा र गाइड व्यवसाय सक्रिय हुन थालेका छन् । स्थानीय व्यवसायीहरूका अनुसार फागुन सुरु भएसँगै बुकिङ बढ्न थालेको छ, जसले मुस्ताङको पर्यटन अर्थतन्त्र पुनः उठ्न थालेको संकेत दिएको छ ।
हिउँ घट्दै जानु, आकाश सफा हुनु र सडक तथा हवाई यातायात सहज बन्नुले आगामी महिनामा पर्यटक सङख्या अझ बढ्ने अनुमान गरिएको छ । विशेषगरी आन्तरिक पर्यटकसँगै भारतीय तीर्थयात्रीहरूको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटन बढ्नु सकारात्मक संकेत भए पनि हिमाली क्षेत्रको नाजुक वातावरण जोगाउन सरसफाइ, फोहोर व्यवस्थापन र सेवा गुणस्तरमा थप ध्यान दिनुपर्ने देखिएको छ ।
योजनाबद्ध पूर्वाधार विकास गर्न सके मुस्ताङलाई वर्षैभरि आकर्षक धार्मिक तथा हिमाली पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना बलियो छ ।










प्रतिक्रिया