Logo

राजनीति

एमाले, रास्वपा, राप्रपासहितका दलले अझै खोलेनन् छुट्टै बैंक खाता


१५ फाल्गुन २०८२, शुक्रबार  

161
Shares

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार खर्च पारदर्शी बनाउन दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिए पनि ठूला दलहरूमध्ये केहीले अझै आयोगबाट सिफारिस लिएका छैनन्।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार हालसम्म ११ राजनीतिक दलले मात्र प्रचार खर्चका लागि छुट्टै बैंक खाता खोल्न आयोगबाट सिफारिस लिएका छन्।
सिफारिस लिने दलमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।
तर नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले भने छुट्टै खाता सञ्चालनका लागि हालसम्म सिफारिस लिएका छैनन्।
आयोगले निर्वाचन आचारसंहितामा नै प्रचार खर्च छुट्टै बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ। खर्च व्यवस्थापन र पारदर्शिताका लागि यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ।
भट्टराईका अनुसार हालसम्म एक हजार ६७० उम्मेदवारले मात्र छुट्टै बैंक खाता खोलेका छन्। यस पटक प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ तीन हजार ४६० उम्मेदवार प्रतिस्पर्धामा छन् भने ६१ चुनाव चिह्नमा ६५ राजनीतिक दल चुनावी मैदानमा छन्।
आयोगले दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न पुनः आग्रह गरेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : १२ बजे