Logo

राजनीति

मत होइन दोलखालीसँग काम मागिरहेको छु : उम्मेदवार खड्का



काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले आफूले मतदाहरुसँग मत भन्दापनि काम मागिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले चुनाव सकिएपछि जनतासँगको सम्बन्ध धमिलो हुन नदिइ जनताहरुसँग जोडिरहने प्रतिबद्धता पनि जनाए ।
उनले भने,‘म दोलखाका जनताहरुसँग वा मतदाताहरुसँग उम्मेदवारको हिसाबले मत माग्न आइरहेको छैन् । चुनाव सकिएपछि जनतासँग सम्बन्ध धमिलो हुँदो रहेछ । त्यसैले सुमधुर बनाउन चाहन्छु । दोलखाको एउटा परिवारको सदस्य हुँ र दोलखा एउटा घर हो । म त्यो परिवारको सदस्यको रुपमा उम्मेदवार बनेको छु । मलाई विश्वास छ आफ्नो घरको र पार्टीको इज्जत जोगाउनुहुने छ । मैले भनिरहेको छु मत होइन् काम मागिरहेको छु ।’
त्यस्तै उनले अहिले बाहिर चुपचाप एउटा चिन्हमा झ्यापझ्याप भन्ने नारा निकै चलिरहेको बताउँदै त्यो लोकतन्त्रमाथिको खतरा भएको धारणा राखे ।
संवादमा विश्वास गर्नुपर्ने बताउँदै उम्मेदवार खड्काले ‘संवादमा विश्वास, विकासमा निकास भन्ने’ नारासहित आफूहरु अगाडि बढेको बताए ।
दोलखाका अनगिन्ति सम्भावनाहरुसँगै धेरै चुनौती पनि रहेको बताउँदै उनले दोलखा बनाउने दायित्व आफूहरुसँग रहेको धारणा राखे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : ५४ बजे