काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।पार्टीले आफ्नो घोषणापत्रमा भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई योजनाबद्ध आक्रमणको रूपमा उल्लेख गरेको छ । सो घटनामा संलग्न केही तत्वहरूले नयाँ शक्ति नामक समूहको मुखुण्डो लगाएर राष्ट्रघात गर्ने प्रयास गरेको पार्टीको तर्क छ ।घोषणापत्रमा भनिएको छ,‘देशभर गत भदौ २४ गते गरिएको महाविनाश अप्रत्यासित घटना होइन । नेपाल राष्ट्रको सार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनावद्ध रूपमा गरिएको आक्रमण हो। त्यसका लाभग्राहीहरू सरकारमा कुन रूपमा छन् र निर्वाचनमा कुन रूपमा आएका छन्, तपाईहरूले देख्नुभएकै छ । राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन ।’नेकपा एमालेले आफूलाई निर्माण र स्थिरताको पक्षमा रहेको र समाजलाई शान्ति, सुव्यवस्था र राजनीतिक स्थिरताको मार्गमा फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ ।पार्टीको भनाइ अनुसार, वर्तमान राजनीतिक अस्थिरता विकास र अर्थतन्त्रको गतिमा अवरोध सिर्जना गर्ने मुख्य कारण हो। यसैले घोषणापत्रमा राजनीतिक स्थिरतालाई सबैभन्दा उच्च प्राथमिकता दिइएको छ ।घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ ।यी योजनाहरू अन्तर्गत सार्वजनिक संरचनाहरूको पुनर्निर्माण, प्रशासनिक कार्यक्षमता सुधार, र नागरिकमा विश्वास फर्काउने काम प्राथमिकतामा राखिएका छन्। पार्टीले सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइएका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्यलाई समयसीमा तोकेर अगाडि बढाउने योजना सार्वजनिक गरेको छ ।पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने दाबी गरेको छ । घोषणापत्रमा उल्लेख छ कि असुरक्षा, अव्यवस्था र शान्तिभंग गर्ने स्रोतहरू अन्त्य गरेर नेपाली समाजलाई भयमुक्त, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।पार्टीले आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा प्राथमिकता, समयसीमा र नीतिगत ढाँचा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ । यससँगै, राजनीतिक अस्थिरता रोक्न, विकासका कार्यक्रमलाई द्रुत गति दिने, र समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने लक्ष्य घोषणापत्रमा राखिएको छ ।
७ फाल्गुन २०८२, बिहिबार
115
Shares









प्रतिक्रिया