सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् ।
यातायात पूर्वाधारविज्ञ गजुरेलले कुनैपनि विकसित देशमा सार्वजनिक यातायात व्यवस्थित भएको भन्दै उनले सुरक्षित सडक र व्यवस्थित सार्वजनिक यातायात हुनुपर्नेमा जोड दिएका हुन् ।
‘हाम्रो मुलुकको बार्षिक बजेटमा सडक विस्तार, सुधार र कालोपत्रेमा खर्च हुने गरेपनि सार्वजनिक यातायात प्राथमिकतामा परेको छैन् । सार्वजनिक यातायात र सडक सुरक्षामा लगानी नगर्दा हरेक बर्ष तीन हजार नेपालीको मृत्यु भइरहेको छ । म सार्वजनिक यातायात र सडक सुरक्षाका बारेमा बर्षौंदेखि बोलिरहेको छु । रास्वपाले यो मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको र सदन एवम सरकारमा गएपछि व्यवस्थित गर्नेछौं,’ उनले भने ।
चुनावी अभियानका क्रममा घरदैलो गरिरहेका गजुरेलले एक भिडियोमार्फत सार्वजनिक यातायातलाई कोचाकोचमुक्त गराउने, निजी सवारी साधन प्रयोग गरिरहेकाहरुलाई सार्वजनिक यातायात चढौंचढौं हुनेगरी व्यवस्थित गर्ने जनाएका हुन् ।
चुनावी मैदानमा जानुअघि यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । रास्वपाबाट टिकट पाएपछि उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएर आफ्नो क्षेत्रका मतदाताहरुसँग साक्षात्कार गरिरहेका छन् ।
गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास, र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।










प्रतिक्रिया