Logo

समाचार

एमबीबीएस विद्यार्थीको सिरिन्ज आक्रमणबाट झापामा एक वृद्धको हत्या



झापा। एमबीबीएस अध्ययनरत एक विद्यार्थीले सिरिन्ज प्रहार गरी झापामा एक वृद्धको हत्या गरेका छन्। घटनामा सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले भद्रपुर–१० का ६६ वर्षीय खेमराज ढकालको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार सिंह धरानमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनी बुधबार भद्रपुर आएका थिए र एक होटेलमा बास बसेका थिए।

घटना बिहीबार साँझ भएको हो। सिंहले ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज प्रहार गरेका थिए। त्यसपछि सिरिन्जमा भरिएको रसायन शरीरभित्र प्रवाह गरिएको प्रहरीले जनाएको छ। प्रयोग गरिएको रसायनको पहिचान गर्न अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार अभियुक्त सिंह र मृतक ढकालकी छोरी एउटै कलेजका विद्यार्थी हुन्। उनीहरूबीचको व्यक्तिगत विवादका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

ढकालको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : ०० बजे