Logo

राजनीति

एमालेलाई मुलुकप्रति विशेष अभिभारा छ : ओली



काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मुलुकप्रति विशेष अभिभारा रहेकाले त्यसलाई पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।

झापा–काठमाडौं सम्पर्क कमिटीको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा (एमाले) अन्य दलभन्दा पृथक रहेको दाबी गरे।

उनले भने, ‘नेकपा एमाले विशेष अभिभारा बोकेको पार्टी हो । त्यो पूरा गर्नुपर्नेछ । अरु पाटी भन्दा यो पृथक छ । यसको काममा राष्ट्रियता, जिम्मेवारी र जवाफदेही छ । त्यसकारण यो पार्टी अरु भन्दा पृथक छ ।’

अध्यक्ष ओलीले एमाले मात्र देशभक्त वा लोकतान्त्रिक पार्टी हो भन्ने आशय नरहेको स्पष्ट पार्दै अन्य दलहरूसँग स्पष्टता र त्यसमा अडिग रहने तथा कार्यान्वयन गर्ने क्षमता कमजोर बन्दै गएको टिप्पणी गरे ।

‘अरू पार्टी देशभक्त छैनन् वा लोकतान्त्रिक छैनन् भन्ने होइन, तर आजभोलि स्पष्टता, त्यसमा अड्न सक्ने क्षमता र कार्यान्वयन गर्ने शक्ति न्यून हुँदै गएको छ,’उनले भने।

उनले देशलाई पुनः सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको रूपमा सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए ।

साथै स्वतन्त्र राजनीतिक व्यवस्था, मौलिक सामाजिक मूल्य–मान्यता तथा गौरवपूर्ण सांस्कृतिक पहिचानलाई जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘देशलाई फेरि पनि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन राष्ट्रको हैसियतमा कायम राखेर आत्मनिर्भर अर्थतन्त्र, स्वतन्त्र राजनीतिक आफ्नो मौलिक, सामाजिक मूल्यमान्यताहरु र हाम्रो गौरवपूर्ण संस्कृति यी चिजहरुलाई कायम राख्दै अगाडी बढ्नुपर्दछ,’ उनले भने ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ११ : १२ बजे