Logo

राजनीति

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?



सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ ।

नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व हात पारेपछि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

२०७० सालदेखि काठमाडौं – ४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गरी मधेस प्रदेशको सर्लाही – ४ रोज्नुले पनि राजनीतिक वृत्तमा चर्चा बढाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद् बनेर संसदीय यात्रा थालेका थापाका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ ।

पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिएको थियो । सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापाको नेतृत्व सुरक्षित बनेको छ । मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले देउवा समूहका तर्फबाट दायर मागदाबी खारेज गरेसँगै थापा थप बलियो देखिएका छन् ।

कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको सन्दर्भमा यो निर्वाचन जित्नु उनको राजनीतिक यात्राका लागि अनिवार्य जस्तै बनेको छ । कांग्रेसका पूर्वनेता डा. अमरेश कुमार सिंह मैदानमा छन् भने एमालेबाट अमनिश कुमार यादव र नेकपाबाट राजनीश राय यादव उम्मेदवार छन्। साथै, क्षेत्र नं ४ मा २६ स्वतन्त्रसहित कुल ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा डा. सिंहले २० हजार १७ मत ल्याएर जित हासिल गरेका थिए । त्यस बेला कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । त्यस बेला कांग्रेशले सिंहलाई किटक नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए।

सर्लाही–४ अन्तर्गत बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५, बसबरिया गाउँपालिकाका वडा नम्बर १, २ र ३, धनकौल, रामनगर गाउँपालिका, बलरा, गोडैता नगरपालिका तथा विष्णु गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्दछन् ।

प्रभावशाली उम्मेदवार, विगतको प्रतिस्पर्धी नतिजा र राष्ट्रिय राजनीतिक अर्थ जोडिएकाले सर्लाही – ४ को चुनाव यस पटक निकै रोचक र निर्णायक बन्ने देखिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : १८ बजे