Logo

मुख्य समाचार

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन



काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा भ्रष्टाचार भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

अख्तियारले विशेष अदालतले गरेको आदेश बेरीतको भएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दायर गरेको हो। आयोगले शुक्रबार जारी विज्ञप्तिमा विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतको आदेश बदर गर्न माग गरिएको जनाएको छ।

अख्तियारले गत मंसिर २१ गते प्रदीप अधिकारी, महेशकुमार बस्नेत, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, मुरारी भण्डारी, नारायण गिरी र बाबुराम पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

विशेष अदालतले प्रतिवादी प्रदीप अधिकारीलाई पाँच लाख रुपैयाँ र मुरारी भण्डारीलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। यस्तै, अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारिखमा राख्ने आदेश गरेको थियो।

यी आदेशप्रति असन्तुष्टि जनाउँदै अख्तियारले सबै प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावलोकन माग गरेको हो।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : २१ बजे