Logo

समाचार

कृषि ज्ञान केन्द्र बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना



बाजुरा । बाजुरामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागी सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
शुक्रबार मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला कृषि ज्ञान केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरी निर्वाचनका कार्य संचालनमा ल्याईएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन जिल्लास्थित राजनितिक दल,कर्मचारी, जनप्रतिनिधी र संचारकर्मीको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् ।
उनले जिल्लाका अति संवेदनशिल र सामान्य अवस्थाका मतदान केन्द्रहरुको अवस्था आँकलन गरी सुरक्षाको व्यवस्थापन गरिने जानकारी दिए । बाजुरामा निर्वाचनको इज्जत गुमेकाले चुनावलाई शान्तिपूर्ण, भयरहित बनाउन सबैले संयमित हुनुपर्ने बताएका हुन् ।
बाजुरामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए । बाजुरा चुनावको बेला चर्चामा आउँने जिल्लाको रुपमा चिनिन्छ । विगतका जस्ता घटना घट्न नदिन सबैले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
साथै उनले निर्वाचनको अवस्थालाई मध्येनजर गर्दै सुरक्षा संयन्त्रलाई विशेष रुपमा परिचालन गरिने बताए । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष,धाँधली रहित वातावरणमा सम्पन्न हुने विश्वास आफूले लगेको प्रजिअ निरौलाले बताएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा मुख्य निर्वाचन अधिकृत संजीव पोखरेल,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाही,सुरक्षा निकायका प्रमुखसहित पत्रकारको सहभागीता थियो ।
बाजुरामा ८७ हजार बढी मतदाता संख्या कायम भएका छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्। जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिए ।
उनका अनुसार, ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयले यसअघि मतदानस्थल र केन्द्र थपका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो । नौं वटा स्थानीय तह रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र एक सय १२ वटा मतदान केन्द्र रहेका थिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : ५० बजे