Logo

समाचार

धनुषामा पृथ्वी नारायण साहको ३०४औं जन्म जयन्ती धुमधामका साथ मनाइयो



जनकपुर। धनुषामा राष्ट्र निर्माता पृथ्वी नारायण साहको ३०४ औं जन्म जयन्ती धुमधामका साथ मनाइएको छ ।

नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले साहको जन्म जयन्तीको अवसरमा जनकपुरधाममा बाजागाजासहित र्याली निकालेको छ । उनीहरुले राष्ट्रवादी शक्तिहरु एक होऔं भन्ने नाराका साथ साहको जन्म जयन्ती मनाएका छन् ।

सो क्रममा निकालिएको र्याली जनकपुरधामको जनक चोकबाट सुरु भएर रामचोक, सोनारपट्टी, जानकी मन्दिर, मिल्स ऐरिया, भानू चोक, शिव चोक हुँदै पुनः जनक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाश जंग राणाले नेपाललाई एकीकरण गर्ने र पहिचान दिलाउने एक मात्र व्यक्ति पृथ्वी नारायण साहलाई नेपाली जनताले विर्सन नहुने बताए । ८४ प्रतिशत हिन्दू जनसंख्या भएको नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारको नाममा सरकारको खर्च मात्र बढेको भन्दै संघियता र गणतन्त्रको सिद्धान्त हटाउनुपर्ने आजको आवश्यकता रहेको बताए । उनले प्रजातन्त्रसहितको हिन्दू राष्ट्र कायम हुनुपर्नेमा आफूहरु लागि परहेको जानकारी दिए । राणाले पृथ्वी जयन्ती ७७ वटै जिल्लामा धुमधामका साथ मनाइएको बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ३४ बजे