काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको मूल कर्तव्य भएको बताएका छन्। शुक्रबार (पुस २५) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिमा परिणाम स्वीकार गर्दै अघि बढ्नु नै उत्तम विकल्प भएको बताए।
सिटौलाले अहिले पार्टीभित्र परस्पर प्रतिस्पर्धा गर्ने समय नभएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टी एकताबद्ध भएर जानुपर्नेमा जोड दिए। उनले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन हुनु नै पार्टी एकताको आधार भएको स्पष्ट पारे।
पार्टीभित्र देखिएको वर्तमान अवस्था राम्रो नभएको स्वीकार गर्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको बताए। उनका अनुसार अहिलेको मुख्य आवश्यकता निर्वाचनको तयारी र पार्टीभित्र पूर्ण समझदारी कायम गर्नु हो।
“निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला पार्टीमा खैलाबैला हुनु उचित छैन,” उनले भने, “राजनीतिमा जे परिणाम आउँछ, त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ।”
सिटौलाले पार्टीको निर्णयको पालना गर्दै एकताबद्ध रूपमा निर्वाचनमा जानु नै कांग्रेसको वर्तमान प्राथमिकता भएको बताए।










प्रतिक्रिया