Logo

मुख्य समाचार

प्रत्येक आन्दोलन र नागरिक विद्रोहमा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् : अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रमा हुनु दुखद् रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुनुले निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट जरुरी रहेको सन्देश दिएको बताए ।

उनले भने,‘प्रत्येक पटकको आन्दोलन र नागरिक विद्रोहमा सबैभन्दा पहिलो आक्रमण निजी क्षेत्रलाई हुन्छ । त्यसले के प्रश्न उब्जायो भने सरकार निजी क्षेत्रबीचको कम्प्याक्ट निजी क्षेत्र र राजनीतिक दलबीचको कम्प्याक्टले मात्र पुगेन निजी क्षेत्र र नागरिबीचको कम्प्याक्ट त्यति नै जरुरी छ भन्ने बुझिन्छ ।’

त्यस्तै उनले निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र नभई राष्ट्रको सम्पति रहेको बताए । त्यसैले निजी क्षेत्रको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु रहेको उनी बताउँछन् ।

उनले भने, ‘निजी क्षेत्रले सृजना गरेको सम्पति लगानीकर्ताको मात्र सम्पति होइन् त्यो राष्ट्रको सम्पति हो । त्यसैले त्यसको क्षति हुनु भनेको राष्ट्रको क्षति हुनु हो । निजी क्षेत्रले कमाएको नाफा निजी क्षेत्रले मात्र भोग गर्ने होईन । त्यही नाफाबाट सरकारलाई कर जाने हो । त्यही नाफाबाट कर्मचारीलाई बोनस जाने छ ।’

मन्त्री खनालले जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनितिज्ञबाट नभई निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु लगायत सबैतिरबाट रहेको बताए ।

‘जेनजी युवाहरुले उठाएको भ्रष्टारविरुद्धको आवाज र सुशासनको माग खालि सरकारी निकाय र राजनीतिज्ञबाट मात्रै होइन । निजी क्षेत्र,समुदाय र गैरसरकारी संस्थाहरु सबैतिरबाट हो ,’उनले भने ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ७ : ४१ बजे