काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो ।
यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो । सूचना अनुसार ऋणपत्रको बोलकबोल २०८२ पुस १६ गते अर्थात आज मध्यान्ह १२ बजे अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ । ऋणपत्रको निष्कासन पनि सोही दिन हुने जनाइएको छ ।
यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ भने सावाँ भुक्तानी २०८३ पुस १६ गते गरिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँकै गुणकमा रकम प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ । कुल आह्वान गरिएको रकमसम्म लगानी गर्न सकिनेछ ।
यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ । साथै, राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा प्रस्ताव गर्दा इच्छाएको रकम र ब्याजदर (दशमलव पछाडि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाइनेछ । समान ब्याजदरमा बढी माग परेमा प्रो–राटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।
स्वीकृत बोलकबोल रकम निष्कासन मितिमा सम्बन्धित काउन्टरपार्टीको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ । खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई जरिवाना सहित खुला बजार कारोबार तथा बोलकबोल प्रक्रियामा सहभागी हुन प्रतिबन्ध लगाइने व्यवस्था पनि गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र लगानी पोर्टफोलियोअन्तर्गत पर्ने भएकाले अनिवार्य नगद मौज्दातमा गणना गरिने छैन । तर, वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ ।
ऋणपत्र परिपक्वता मिति अघि फिर्ता नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ । यससम्बन्धी अन्य प्रक्रिया प्रचलित ऐन, नियम र व्यवस्थाअनुसार हुने जनाइएको छ ।










प्रतिक्रिया