Logo

खेलकुद

राष्ट्रिय यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू–१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ ।
एन्फाले मंगलबार (पुस १५) श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । नवनियुक्त प्रशिक्षक श्रेष्ठले पोखरामा माघ १५ गतेदेखि आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा घरेलु टोलीको नेतृत्व गर्नेछन् ।
श्रेष्ठ नेपाली फुटबलका अनुभवी प्रशिक्षक मानिन्छन् । उनले गत वर्ष नेपाल सुपर लिग (एनएसएल)मा पोखरा एभेन्जर्सलाई फाइनलसम्म पुर्‍याएका थिए । फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएपछि पोखरा उपविजेतामा सीमित भएको थियो ।
उनसँग अन्तर्राष्ट्रिय अनुभव पनि छ । श्रेष्ठले सन् २०२४ मा भुटान प्रिमियर लिग क्लब फुएन्ट्सोलिङ हिरोज एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यसअघि सन् २०१८ मा उनले घरेलु शीर्ष डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबको पनि मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
एन्फाले साफ यू–१९ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै श्रेष्ठको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ०२ बजे